Breaking News

राष्ट्रिय महिला फुटबल : आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

निलम महर्जन/ काठमाण्डाै, १९ पुस । विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब राजधानीम जारी राष्ट्रिय खेलकुद परिषद् च्याम्पिनसिपको सुपर लिगमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मध्य पश्चिमाञ्चललाई १२-० गोल अन्तरले हराउँदै आर्मी सुपर लिग प्रवेश गरेको हो । आर्मीको जितमा सपना लामाले पाँच तथा शर्मिला थापामगरले चार गोल गर्न सफल भईन् ।

मध्य पश्चिमाञ्चललाई लगातार दबाब दिएको आर्मीका लागि दिपा राईले दुई तथा कृष्णा खत्रीले थप एक गोलको योगदान गरिन् । प्रतियोगिता अन्तर्गत यसअघि भएको आफ्नो पहिलो खेलमा पनि आर्मीले पश्चिाञ्चललाई १२-० गोल अन्तरलेनै हराएको थियो ।

राखेप च्याम्पिनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा अर्को विभागीय टोली एपिएफले पश्चिमाञ्चललाई १४-० गोलले पाखा लगायो ।

यसअघि, पहिलो खेलमा मध्य पश्चिमाञ्चललाई २६-० गोलले हराउँदा १२ गोल गरेकी शावित्रा भण्डारीले आजको खेलमा पनि आठ गोल गर्न सफल भईन् ।

यससँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सुचिमा शावित्रा २० गोलका साथ अग्रस्थानमा रहेका छन् । उनका साथै एपिएफको जितमा रेखा पौडेल र अनिता केसीले समान दुई-दुई तथा रेनुका नगरकोटी र अनिता बस्नेतले एक÷एक गोल आफ्नो नाममा लेखाउन सफल भइन् ।

यो जितसँगै समुह चरणको दुवै खेल शतप्रतिशत नतिजाका साथ आर्मी र एपिएफ समान ६ अंकका साथ सुपर लिगमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा सुदुर पश्चिमाञ्चल र मध्यमाञ्चल तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।

समुह चरणका दुवै खेल जितेको पुलिस यसअघिनै सुपर लिग प्रवेश गरिसेको छ भने एक-एक खेल जितेको सुदुर पश्चिमाञ्चल र मध्यमाञ्चलबीचको विजेताले सुपर लगिमा स्थान बनाउने छ ।

shares