प्रमुख अायुक्तले भने, समानुपातिकतर्फको नतिजा लुकाएको अाराेप निराधार

काठमाण्डाै, १६ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

आईतबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजापछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने भएकोले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि तत्काल प्रतिनिधिभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने यादवले बताए ।

यादवले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको भन्ने अरोपको खण्डन गर्दै नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया केके छ भनेर नजानेका नेताहरूले त्यस्ताे आरोप लगाएकाे बताए ।

प्रमुख आयुक्त यादवले निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा जुन नाम बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ भन्दै क्रमसंख्या तलमाथि गरे कानून र निर्देशिका विपरित हुने भएकोले त्यस्तो पाइएमा कारबाही गर्ने बताए ।