Breaking News

लागुऔषध नियन्त्रणमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्नेमा सरोकारवालाकाे जाेड

काठमाण्डाै, १४ पुस । लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले शुक्रबार काठमाण्डौमा आयोजना गरेको ‘लागुऔषध नियन्त्रणसम्बन्धी पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरूले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनीहरूले लागुऔषध दुर्व्यसनीको संख्या बढ्नुले समाजमा विभिन्न खालका समस्या निम्त्याउँदै गएकाले यसको समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले समाज खराब दिशामा जानु सबैका लागि घातक हुने भन्दै त्यसलाई रोक्न सञ्चारकर्मीले आफ्नो भूमिका बढाउन आवश्यक रहेको बताए । मुलुक संघीय संरचनामा गएको अवस्थामा लागुऔषधको प्रयोग र आसारपसार रोक्न छुट्टै नीति बनाउन आवश्यक रहेको धारणा पनि उनले व्यक्त गरे ।

मन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपालमा वर्षेनी ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको तथ्यांक प्रस्तुत गर्दै लागुऔषधसम्बन्धी नियन्त्रण ऐन २०३३ धेरै पुरानो भएकाले त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

shares