August 16, 2017

मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य सुरु

काठमाण्डौ २४ वैशाख । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आईतबारदेखि सुरु गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रमा भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको यादवले बताए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गरे ।

आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचार प्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिका लगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् ।