August 19, 2017

महाअभियोग विवादास्पद र गलत भएको अध्यक्ष ओलीको आरोप

काठमाण्डौ, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग जस्तो ब्रम्हास्त्र गलत ठाउँमा प्रयोग गरेको आरोप लगाएका छन् ।

आइतबार ललितपुर महानगरपालिकाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीश माथि लगाइएको आरोप गलत ठाउँमा प्रयोग भएको आरोप लगाउनु भयो । आफ्नो भनाई नमानेको आधारमा महाअभियोग लगाउन नपाइने उनको भनाई थियो ।

संसदबाट मात्रै महाअभियोगको टुङ्गो लगाउन सकिने बताउँदै अध्यक्ष ओलीले विवादास्पद विषयलाई फिर्ता गरेर अगाडि बढ्नु पर्नेमा ४ गते सम्मका लागि संसद बैठक स्थगित गर्नु पनि गलत भएको उल्लेख गरे । एमाले सामाजिक सद्भाव, समानता, सहिष्णुता, न्याय र लोकतन्त्रका पक्षमा रहेको बताउँदै अध्यक्ष ओलीले एमाले भौगोलिक अखण्डताको पक्षमा रहेको जोड दिए ।

साथै प्रतिगामी तत्वले देशलाई तराई र पहाडमा छुट्याउन खोजेको आरोप ओलीको छ ।