August 17, 2017

रुस्लान अत्तरिया कपको सेमिफाइनल समिकरण पूरा

सिताराम ओझा कैलाली २४ वैशाख । कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बारा क्रिकेट एकेडेमीलाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाईनल समिकरण पूरा भएको हो । समूह ‘बी’ मा रहेको कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

अत्तरीयास्थित सशस्त्र प्रहरी वलको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६७ रनको सामान्य योगफल मात्रै बनाउन सक्यो ।

बाराको पारीमा सरस्वती पुनले १९ र ममता चौलागाईले १० रन बनाउँदा अरु खेलाडीहरुले दोहोरो रन बनाउन सकेनन् । कैलालीका लागि सुमन विष्टले २ विकेट लिइन् । कविता कुवँर, अन्जली चन्द र लक्ष्मी साउदले पनि १–१ विकेट लिए ।

६८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलालीले मन्जु विष्टको ३३ रनको अविजित पारी र कविता कुवँरको २२ रनको मद्दतले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्यो । बराकी सामना पुनले एक विकेट लिईन । खेलमा उत्कृष्ट ब्याटिङ गरेकी मन्जु वोगटी ‘वुमन अफ द म्याच’ हुँदै नगद ३ हजार हात पारिन् ।

सोमबार हुने पहिलो सेमिफाईनलमा समुह ‘ए’ को विजेता एपिएफसँग समुह ‘बी’ को उपविजेता कैलालीले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ को विजेता राईजिङ क्रिकेट वुमनले समुह ‘ए’ को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।