पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाण्डाै, ५ पुस । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ ।

पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा  मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिए । पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ ।

हाल निगमको मासिक घाटा रु १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो । रासस