October 24, 2017

काठमाण्डौ महानगरपालिकाका मेयर पदका उम्मेदवारहरु भन्छन्– हामी नै जित्छौं

काठमाण्डौ, २४ वैशाख । निर्वाचनको लागि काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेद्वारहरुले काठमाण्डौलाई देशकै नमुना सहर बनाउने प्रतिबद्धता र आफूले जित्ने आधार र दाबी प्रस्तुत गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले पार्टीले ल्याएको कार्ययोजना अनुसार महानगरपालिकालाई नयाँ स्वरुप प्रदान गर्ने विश्वास दिलाए । शाक्यले महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने समेत दाबी गरे ।

त्यस्तै नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार राजुराज जोशीले नेपाली कांग्रेस पार्टी नै आफ्नो जित्ने प्रमुख आधार भएको स्पष्ट पारे ।

साझा पार्टीबाट काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकोले काठमाण्डौको विकासको लागि आफू उपयुक्त व्यक्ति भएकोले उम्मेदवारी दिएको स्पष्ट पारे । उनले आफूले नेपालको राजनीतिलाई नजिकबाट नियाँलेको बताउँदै नयाँ राजनीतिक विचारधारा बोकेर आएको साझा पार्टीको तर्फबाट स्वतन्त्र हैसियतमा क्यामेरा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएको बताए ।