October 23, 2017

भारतबाट खरिद गरिने बल्बमा अनियमितता नहुने ऊर्जामन्त्रीको दाबी

काठमाण्डौ, २४ वैशाख । ऊर्जा मन्त्री जनार्दन शर्माले भारतको सरकारी निकायबाट नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको हुँदा कुनै अनियमिताको सम्भावना नरहने बताएका छन् ।

आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले सार्वजनिक खरिद ऐनको प्रावधान पुर्‍याइएको र दुई सरकारी निकायबीच कारोबार हुन लागेको हुँदा अनियमितताको संभावना नरहने दाबी समेत गरे । बिना टेन्डर दुई अर्ब बढीको खरिद गर्न लागेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि मन्त्री शर्माले प्रष्टिकरण दिएका हुन् ।

लोडसेडिङ व्यवस्थापनका लागि दुई मुलुकका सरकारी निकायबीच पारदर्शी रुपमा बल्ब खरिद बिक्री हुन लागेको मन्त्री शर्माले बताए ।भारतबाट ल्याउँदा भन्सार बिन्दुमा एउटा बल्बको लागत १०४ रुपैयाँ पर्ने जनाइएको छ । यसरी दुई करोड थान बल्ब नेपाल अाइपुग्दा दुई अर्ब ३२ करोड रुपैयाँ पर्ने मन्त्री शर्माले जानकारी दिए ।

अहिले प्राधिकरणका ३५ लाख ग्राहकले १८ वाटको सिएफएल र ६० वाटको साधारण बल्ब बाल्दा पिक आवरमा ३८१ मेगावाटले लोड बढ्ने प्राधिकरणको तथ्याङ्क छ ।