August 21, 2017

प्रधानमन्त्री दाहाल र अमेरिकी कंग्रेसका सदस्यबीच भेटवार्ता

काठमाण्डौ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलबीच आईतबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा दुईपक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रशंसा पनि गरेका थिए । नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अमेरिकी लगानी र अनुदान बढाउन जोड दिए ।

यस्तै टोलीले आईतबार नै परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेको छ । भेटमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा खेलेको भूमिकाको चर्चा भएको मन्त्री महतले जानकारी दिए । भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए ।

भेटमा अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।