स्पेनका लागि राजदूतको सुनुवाइ प्रक्रिया चुनावसम्मका लागि स्थगित

काठमाण्डौ, २४ वैशाख । स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको संसदीय सुनुवाइको प्रक्रिया चुनावसम्मका लागि स्थगित भएको छ ।

आईतबार उजुरीमाथि प्रारम्भिक सुनुवाइका लागि बैठक बोलाइए पनि चुनावसम्मका लागि सांसद्हरु गाउँ जाने भएपछि सुनुवाइ सरेको हो । संसदीय सुनुवाइ समिति सचिव ध्रुवप्रसाद घिमिरेले रायमाझीको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् ।

फाल्गुन ९ गते नै रायमाझीको नाम राजदूतमा सिफारिस भए पनि दूतावास नै नभएको देशमा सिफारिस गरेको भन्दै सरकारको आलोचना भएपछि नाम सूचीबाट फिर्ता गरिएको थियो । स्पेनमा दूतावास खोल्ने निर्णय गर्दै सरकारले रायमाझीलाई पहिलो राजदूतका रुपमा सिफारिस गरेको थियो । विवादका कारण रायमाझी र युएइका लागि प्रस्तावित आशा लामाको नाम सरकारले संसदीय सुनुवाइका लागि पठाएको थिएन । तर, सरकारले पुनः रायमाझीलाई राजदूतमा सिफारिस गरेको हो ।

यस्तै आईतबारको बैठकले अख्तियार प्रमुखमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको घिमिरेले जानकारी दिए । दुबैैको सुनुवाइ प्रक्रिया अघि बढाउन समितिले सार्वजनिक सूचना आह्वान गर्ने निर्णय गरेको छ ।