August 19, 2017

सप्तरी जिल्ला खुला दिसामुक्त हुदै

दिनेश शर्मा/राजविराज, ३० चैत्र । सन २०१७ भित्रै सप्तरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत सप्तरी  जिल्लामा धमाधम प्रयासहरु भइरहेका छन ।

जिल्लामा रहेका १ लाख १८ हजार ५ सय ६३ घरधुरी मा सन २०१७ भित्र शाैचालय निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप हालसम्म ९७ हजार ७ सय १ घरमा मात्रै शौचालय निर्माण भएका छन् । भने करिव २१ हजार घरधुरीमा अझै शौचालय निर्माण हुन सकेका छैन् ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार पुरानो संरचना अनुसार सप्तरीका ९१ गाविस मध्ये हालसम्म ४२ वटा गविस खुला दिसामुक्त घोषणा भईसकेका छन् । खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्रकुमार यादवका अनुसार झुट्की, सकरपुरा, लौनीयाँ, इनरुवा, तरही लगाएतका गाविसका २१ प्रतिशत घरमा मात्रै शौचालय निर्माण भएको छ ।

खुल्ला दिसामुक्त कार्यक्रमका लागि राजविराज नगरपालिकालाई सन् २०१४ मा वजेट निकासा भएपनि सन् २०१५ मा थोरै मात्र काम भएपछि वजेट फ्रिज भएको खाने पानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।

वजेट निकासा भएर पनि काम गर्न नसक्दा फ्रिज हुने कारणले गर्दा सदरमुकाम राजविराज लगायत सप्तकोशी, शम्भनाथ, हनुमाननगर योगिनी माई, कञ्चनपुर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएको यादवले बताए ।

नगरपालिका समेतलाई समेटेर जिल्लालाई खुला दिसामुक्त घोषणाका लागि द्रुत गतिमा काम हुनु आवश्यक छ, तर सोचेजस्तो गतीमा काम हुनु चुनौतीपुर्ण रहेको यादवले बताए ।