रेशम चौधरीलाई पक्राउ गर्न हेडक्वाटरकाे निर्देशन

काठमाण्डौ, २७ मंसिर । प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ ।

‘फरार’ चौधरी जितसँगै जनतामाझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले कानुनका नजरमा चौधरी दोषी रहेकाले पक्राउ गरिने प्रतिक्रिया दिए । ‘कानुनको नजरमा उनी फरार अपराधी हुन्, निर्वाचनमा जिते पनि उनलाई पक्राउ गर्न कानुनले छेक्दैन, उनलाई पक्राउ गरिनेछ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने ।

उनले कैलाली प्रहरी कार्यालय तथा देशभर उनलाई पक्राउ गर्न निर्देशन दिइसकिएको पनि बताए ।‘निर्वाचन जिते पनि उनलाई पक्राउ गर्न कानुनले छेक्दैन,’ प्रवक्ता डीआईजी न्यौपानेले भने । यसअघि २०६४ सालको निर्वाचनमा रौतहटबाट बबनसिंह निर्वाचित भएका थिए । गौर हत्याकाण्डमा प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेका सिंहले रौतहट–१ बाट स्वतन्त्र सभासद्को हैसियतमा भूमिगत शैलीमै निर्वाचन जितेका थिए । यो खबर राजधानी दैनिकमा छ ।