मंसिर २९ गतेसम्म निर्वाचनका सबै परिणाम आइसक्छ: अायाेग

काठमाण्डाै, २६ मंसिर । निर्वाचन आयोगले मंसिर २९ गतेसम्म निर्वाचनका सबै परिणाम आइसक्ने जनाएको छ ।

प्रतिनिधि सभाको मतगणना अन्तिम चरणमा पुगेको र प्रदेशतर्फ सात स्थानमा मतगणना भइरहेको आयोगको भनाइ छ । आयोगले समानुपातिकतर्फ ३६ लाख भन्दा बढी मतगणना भइसकेको र एक करोढभन्दा केही बढी मात्र गन्न बाँकी रहेको समेत जानकारी दिएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आयोगले सोचेजस्तै छिटो मतगणना भइरहेको बताए । उनले प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा दुई देखि तीन प्रतिशत मत बदर हुने प्रारम्भिक अनुमान रहेको जानकारी समेत दिए ।

प्रत्यक्ष भन्दा समानुपातिकमा मत बदर धेरै देखिएको र आयोगले अपेक्षा गरेभन्दा बिपरित दुर्गम स्थानमा मत बदर निकै न्युन देखिएको उनकाे भनाइ छ । प्रवक्ता ढकालले प्रतिनिधी सभा र प्रदेशको निर्वाचन सम्पन्न भइसकेपनि राष्ट्रिय सभाको निर्वाचनका लागि कुनै कानुन आयोगलाई प्राप्त नभएको बताए ।

उनले छिटै राष्ट्रिय सभाको निर्वाचनका लागि कानुन प्राप्त हुने बिश्वास व्यक्त गर्दै यसपछि निर्वाचनको तयारी गरिने जानकारी दिए ।