प्रमुख निर्वाचन आयुक्तद्वारा मतदाता शिक्षा प्रभावकारी नभएको स्वीकार

काठमाण्डाै, २६ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता शिक्षा प्रभावकारी नभएको स्वीकार गरेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) , आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) ले मंगलबार संयुक्त रुपमा काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनले मतदाता शिक्षा प्रभावकारी नभएको स्वीकार्दै आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यादवले विविध कारणले निर्वाचनको अन्तिम समयमा मतपत्रका बिषयमा पनि अन्यौलता देखिएकाले मतदाता शिक्षा ढिलामात्र सुरु गर्न सकिएको बताए । त्यस्तै उनले विदेशमा रहेका नेपालीका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न कानुनी जटिलता रहेकाले यसको समाधानको उपाय खोजिने धारणा पनि राखे ।

विदेशमा रहेका नेपालीको नामावली दर्ताका लागि आयोग छिटो भन्दा छिटो सरोकारवाला निकायसँग छलफल चलाउने उनको भनाइ छ । यादवले मतदाता, राजनीतिक दल, निर्वाचन पर्यवेक्षक एवं सुरक्षाकर्मीले निर्वाचनको अवधिभर देखाएको सदासयता एवं धैर्यताका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग सफल भएको उल्लेख गरे ।

त्यस्तै जियोकका अध्यक्ष हिमालयशमसेर राणाले पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा पूर्णरुपमा विधिको शासन सन्चालन हुने विश्वास व्यक्त गरे ।

यसैगरी, नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचनपछि वर्षौंदेखिको राजनीतिक अभियान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पर्यवेक्षकहरूले निर्वाचन शिक्षालाई भने आगामी दिनमा सुधार गरी प्रभावकारी बनाउन सुझाव दिएका थिए ।