कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर दोब्बर मतान्तरले विजयी

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट माअाेवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगर दोब्बर मतान्तरले विजयी भएकी छन् ।

बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका छन् ।बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत प्राप्त गरेकी हुन् ।

८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा समेत उमेदवार रहनु भएकी बिना मगर कांग्रेसका दिवानसिंह विष्टसँग पराजित भएकी थिन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बनेकी हुन् । उनि ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने देखिएको छ ।