Breaking News

पहिलो एक दिवसीय क्रिकेटमा भारत श्रीलंकाद्वारा सात विकेटले पराजित

निलम महर्जन/ काठमाण्डाै, २४ मंसिर । पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई सात विकेटले पराजित गर्दै श्रीलंका विजयी भएको छ ।

धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एशोसियन स्टेडियममा आज भएको पहिलो खेलमा श्रीलंका सात विकेटले विजयी भएको हो । भारतले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभर चार बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

श्रीलंकालाई जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै, एन्जेलो म्याथुजले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन बनाएका थिए । भारतका लागि भुवनेश्वर कुमार, जसप्रित बुराह र हार्दिक पाण्डेयले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङका लागि मैदानमा आएको भारत कमजोर प्रदर्शन गर्दै ३८ ओभर दुई बलमा एक सय १२ रन बनाउँदै अलआउट भएको थियो । भारतका लागि पूर्व कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ६५ रनको योगदान दिए ।

नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा भएको खेलमा एक समय सात विकेटको क्षतिमा भारतले २९ रन मात्र बनाएको थियो । त्यस्तै, कुलदीप यादवले १९ तथा हार्दिक पाण्डेयले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यो जितसँगै तीन खेलको एक दिवसीय क्रिकेट सिरिजमा श्रीलंकाले एक-शुन्यले अगाडी रहेको छ । भारत र श्रीलंकाबीचको दोस्रो एक दिवसीय क्रिकेट शुक्रबार हुनेछ ।

 

shares