२०७० मा प्रचण्ड संग पराजित लिलानाथ श्रेष्ठ सिरहा ३ मा विजयी

जागेश्वर यादव/ सिरहा,२४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । सिरहा ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफना प्रतिद्वन्द्वीलाई दुई हजारबढी मतले पराजित गर्दै निवार्चित भएका हुन् ।
श्रेष्ठले २३ हजार २७० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१२१८ हजार मत प्राप्त गरेका छन् ।
श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट उठेका थिए । त्यो बेला उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग थोरै मतान्तरले पराजित भएका थिए ।

को हुन् लिलानाथ श्रेष्ठ ?

लिलानाथ श्रेष्ठको जन्म २०१८ साल माघ १५ गते सिरहाको चन्द्रलालपुर वडा नम्बर २ मा भएको हो । उनकाे बुवाको नाम जीतबहादुर श्रेष्ठ र आमाको नाम धनमाया श्रेष्ठ हो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक गरेका छन् । २०३७ सालमा सप्तरीमा अनेरास्ववियुको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियुबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियु सह–सचिव भए।
२०४८ सालमा नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सिरहा जिल्ला सचिव भएका श्रेष्ठ २०६२ सालमा नेकपा एमालेको जिल्ला सचिव र २०६६ देखि २०७२ सम्म जिल्ला अध्यक्ष रहेका थिए । उनी २०५४ सालमा सिरहा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।
२०७० सालको संविधान सभाकाे निर्वाचनमा श्रेष्ठ सिरहा क्षेत्र नम्बर ५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका  थिए ।