Breaking News

गगनले भने : निराश नहुनुस्, कांग्रेसको पुनःसंरचना गर्छु

काठमाडौं, २३ म‌ंसिर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसलाई पुनःसंरचना गर्ने बताएका छन् ।

कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् ।

आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा कांग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए ।

थापाले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौं बनाउने आफ्नो अठोट स्मरण गरे ।

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा. राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरे थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई ३ हजार ४११ मतको अन्तरले पराजित गरेका थिए । रासस

shares