डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

डडेल्धुरा, २२ मंसिर । डडेल्धुरामा मतपेटिका सदरमुकाम ल्याउने क्रममा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा शुक्रबार बिहान साढे ९ बजे बम विस्फोट गराइएको हो । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भए पनि मतपेटिका भने सुरक्षित रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

कुल १ सय १७ वटा मतदान केन्द्र मध्ये हालसम्म ७६ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएकाे छ भने ४१ वटा केन्द्रका मतपेटिका ल्याउने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिए ।

सबै मतपेटिका संकलनका लागि समय लाग्ने भएकाले मतगणना गर्ने समय एकीन भइनसकेको रिजालले बताए । मतगणनाका लागि अन्य तयारी भने पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।