रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी

रूकुम, २२ मंसिर । रुकुम पूर्वमा वाम गठबन्धनबाट माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छिन् ।

माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए ।

रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन्। जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला रोका कक्षा १० कक्षा परीक्षा नदिँदै भूमिगत भएकी थिइन्।

२०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भइन्।  रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मेकी कमला लेखक पनि हुन् ।

उनी माओवादीको युवा सङगठन वार्इसीएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती हुन्। संविधानसभामा माओवादीका तर्फबाट समानुपातिक सभासद कमला रोका अहिले वाम गठबन्धनका तर्फबाट उमेदवार बनेकी हुन्।