पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा साँझ ५ बजेदेखि मतगणना

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा अाज ५ बजेबाटै मतगणना सुरु हुने भएको छ ।

सबैजसो जिल्लामा सर्वदलिय बैठक बसिसकेको छ। सर्वदलिय बैठकबाट सहमति गरी सबै जिल्लामा  अपराह्न ५ बजेदेखि नै मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।

पहिलो चरणमा निर्वाचन भएका ३२ वटा जिल्लामा सर्वदलिय बैठक सम्पन्न भइसकेकेका र केहीमा जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

‘सायद ३२ जिल्लामै ५ बजेदेखि नै मतगणना सुरु हुने छ,’ उनले भने। मंसिर १० गते हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो। जिल्ला सदरकुमामहरुमा मतगणनाको अन्तिम तयारी भइरहेको छ ।

३२ जिल्लामा ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा निर्वाचन भएको थियो । सुरुमा प्रत्यक्षतर्फको मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।

मतगणनालाई विवादरहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको छ । सबै जिल्लामा मतगणनास्थलमा सिसिटिभी र जाली राखिएको  जिल्ला प्रहरी प्रमुखहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा  मतगणनामा खटिएका प्रतिनिधिहरुले मतपत्र च्यातेकाले त्यस्तो घटना हुन नदिन दलका प्रतिनिधिलाई जाली बाहिर राख्न लागिएको हो।