प्रदेश ५ मा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खस्यो

नेपालगञ्ज, २१ मंसिर । प्रदेश ५ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

बिहान चिसोका कारण मतदाता कम आए पनि १० बजेपछि मतदाताको संख्या बढ्दै गएको छ । मतदातालाई आतंकित पार्न बिहान दाङको बंगलाचुली र गुल्मीको रुरु बलेटक्सार मतदान केन्द्र नजिकै राखिएको सकेट बम सुरक्षाकर्मीले निस्क्रिय पारेका छन्।

दाङको पश्चिम क्षेत्रमा पर्ने डुंगेश्वरमा भएको झडपमा २ जना घाइते भएका छन् । घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । प्रदेश ५ का १२ मध्ये १० जिल्लाका १ हजार ५ सय १ मतदानस्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

१० जिल्लामा प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ४८ स्थानका लागि निर्वाचन भएको हो । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका ४ सय मतदान केन्द्रमा सुरक्षाका लागि ५० देखि एक सय जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ ।