४५ जिल्लामा आज निर्वाचन, प्रत्यक्षतर्फ ३ सय ८४ सिटका लागि ४४ सय जना प्रतिस्पर्धामा

काठमाण्डौ,२१ मंसिर । देशका पहाडी र मधेसका ४५ जिल्लामा अाज प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

४५ जिल्लाका प्रतिनिधिसभाको १२८ र प्रदेशसभाको २५६ वटा निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो । बिहीबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सञ्चालनका लागि निर्वाचन आयोगमार्फत खटिएका कर्मचारीले बुधबार नै मतदानस्थल तयार गरिसकेका छन् ।

मतदाता परिचय पत्र पनि बिहीबारसम्म वितरण भइसकेको छ । मतदान हुने ४५ जिल्लामा प्रतिनिधिसभाका लागि १ सय २८ सिटका लागि १ हजार ६ सय ६३ जना प्रतिस्पर्धामा छन् । त्यस्तै २सय ५६ प्रदेशसभा सिटका लागि २हजार ८ सय १९ जना प्रतिस्पर्धामा छन् ।

सरकार र निर्वाचन आयोगले सुरक्षा अवस्था भरपर्दो रहेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। बुधबार गृह मन्त्रालय र निर्वाचन आयोगले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी सुरक्षा चिन्ता नलिईकन मतदान गर्न आग्रह गरेका थिए ।

यसअघि मंसिर १० गते ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो। ती ठाउँको मत पनि बिहीबारदेखि नै गणना हुँदैछ। ३२ वटै जिल्लामा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

ती सबै ठाउँमा बिहीबार साँझ ५ बजेदेखि मतगणना हुँदैछ। मतगणनाको लागि सुरक्षा लगायतका सबै तयारी पूरा भइसकेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्।