प्रदेश नं १ काे सात जिल्लामा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

प्रल्हाद गुरागाई/विराटनगर, २० मंसिर । प्रदेश नम्बर १ अन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका पूर्वको सात जिल्लामा सम्पूर्ण तयारी पुरा भएको छ ।

पूर्वको झापा, मोरङ र सुनसरी, इलाम, उदयपुर, धनकुटा र तेह्रथुम जिल्लामा निर्वाचनको सबै तयारी पुरा भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरले जनाएको हाे ।
निर्वाचनका लागि कर्मचारी आ आफ्नो क्षेत्रमा पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संञ्जेलले जानकारी दिए ।

संञ्जेलका अनुसार निर्वाचन प्रयोजनका लागि ६ हजार ६४ जना कर्मचारी खटिएका छन् । निर्वाचन केन्द्रमा मतदानका लागि सबै कार्य पनि सम्पन्न भएको छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै प्रदेश नम्बर १ मा सुरक्षा ब्यवस्था समेत कडा बनाइएको छ ।

यता भारतसँग सीमा जोडिएको विराटनगरको जोगवनी, झापाको काकडभित्ता नाका र धुलाबारी, इलामको पशुपतिनगर नाकामा सिल गरिएको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरीले  सुरक्षा प्रदान गर्दै आएका छन् । नाका सिल गरिएका कारण नेपाल र भारतका मालवहाक सवारी साधान बाटो मै अलपत्र परेका छन् ।

भोलि हुने निर्वाचनमा प्रदेश नम्बर १ का सात जिल्लाबाट २२ लाख ७४ हजार दुईसय १६ जना मतदाता मतदानमा सहभागी हुँदैछन् भने उक्त जिल्लाहरूबाट प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४२ जना निर्वाचिन हुँदैछन् । निर्वाचनमा २२५ जनाले प्रतिनिधिसभा र ३७७ जनाले प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।