August 17, 2017

अफगानिस्तानमा हिन्दू र सिख बच्चाका लागि छुट्टै स्कुल

काठमाण्डौ, २ वैशाख । अफगानिस्तानको नांगरहार प्रान्तमा सरकारले हिन्दू र सिख धर्म मान्ने बालबालिकाका लागि छुट्टै स्कुल बनाउने फैसला गरेको छ ।

हिन्दू र सिख सम्प्रदायका अल्पसंख्यक बालबालिकाले आफ्नो पढाई दाउमा परेको भन्दै गुनासो गरेपछि सरकारले यस्तो निर्णय गरेको हो । अफगानिस्तानमा हिन्दू र मुसलमानबीच धार्मिक द्वन्द छ जसले गर्दा कक्षामा पनि पठनपाठनका क्रममा मुश्किलको सामना गर्नुपर्छ ।

यही कारणले गर्दा अफगानी सरकारले नांगरहार प्रान्तको राजधानी जलालाबादमा अब हिन्दू र सिख बालबालिकाको लागि छुट्टै स्कुलको फैसला गरेको हो । नांगरहारका राज्यपाल गुलाब मंगलले अबको ६ महिनामा ती स्कुलहरुमा पढाई सुरु हुने बताएका छन् ।

जलालाबादमा केही दशक अघि हजारौं हिन्दू र सिख परिवारहरुको बसोबास थियो तर त्यो संख्या घटेर १ सय ५० परिवारमा झरेको छ । ८ वर्षका एक सिख बालकले बीबीसीलाई भने, ‘यहाँको सरकारी स्कुलमा सिख बच्चाहरुलाई सताउने काम गरिन्छ ।’