शान्तिपूर्ण निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थापन: गृह मन्त्रालय

काठमाण्डाै, २० मंसिर । बिहीबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गृह सचिव मोहन सापकोटाले पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिएका थिए ।

निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको भन्दै गृह सचिव सापकोटाले डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएको बताए ।

दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि भोलि सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी गराएको छ । आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधनसमेत चलाउन नपाइने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ।