दोस्रो चरणको निर्वाचनकाे सबै तयारी पूरा

काठमाण्डाै, २० मंसिर । बिहीबार निर्वाचन हुने मतदानस्थलमा दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको सबै तयारी पूरा भएको छ ।

मतदानस्थलमा मतपेटिका सहित डोरी लगाउने , मतदानको लाईन बनाउने व्यबस्था लगाएतका कार्य पुरा भएको हो । बिहीबार ४५ जिल्लामा दोस्रो चरणको चुनाव हुँदैछ । ती जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामाग्रीसहित खटिइसकेका छन् ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ । कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् । निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् ।

चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । पहिलो घेरामा म्यादी र नेपाल प्रहरी रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । सेनाले हवाइ गस्तीको व्यवस्था पनि मिलाएको छ ।

दोस्रो चरणको निर्वाचन सकिए लगत्तै यही मंसिर १० गते निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।