निर्धक्क भएर मतदानमा सहभागी हुन नेपाल प्रहरीकाे अाग्रह

काठमाण्डाै, २० मंसिर । नेपाल प्रहरीले ४५ जिल्लामा भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुरक्षाको सबै प्रबन्ध मिलाएको जनाएको हो । प्रहरी प्रवक्ता मनोज न्यौपानले एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको र अावश्यक परे थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको बताए ।

चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ । प्रवक्ता न्यौपानेले अधिकांश ठाउँमा विस्फोटका घटनामा विस्फोटक पदार्थ प्रयोग नभई आतंकित बनाउने काम मात्र भएको जानकारीसमेत दिएका थिए ।

सुरक्षा अनुगमनका लागि डिएसपीको कमाण्डमा रहेका जिल्लाहरूमा एसपी, एसपीको कमाण्डमा रहेका जिल्लाहरूमा एसएसपी र एसएसपीको कमाण्डमा रहेका जिल्लाहरूमा डिआईजी खटाइएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रवक्ता न्यौपानेले भोजपुर, सिरहा, उदयपुरलगायतका सात स्थानमा मात्र बम विस्फोट भएको जनाकारी दिए । प्रहरीले विस्फोटका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका हात भएको निष्कर्ष निकाल्दै चन्दको पनि खोजी भइरहेको उनले बताए ।