Breaking News

शिवपुजन यादवको उम्मेदवारी खारेज, सर्वोच्चद्वारा आयोगको निर्णय सदर

काठमाडौं,२० मंसिर । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।

बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगसँग छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि राय उम्मेदवार हुन नपाउने भएका हुन्।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा फौजदारी अभियोगमा दोषी भएको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाइएको छ । सोही प्रावधान अनुसार आयोगले रायको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

त्यस विरुद्ध सर्वोच्च पुगेका रायले विशेष अदालतको फैसला स्वीकार नगरी सर्वोच्चमा पुनरावेदन गरेको अवस्थामा त्यसलाई नै अन्तिम व्याख्या गर्न नमिल्ने जिकिर गरेका थिए ।

यादव पहिलो संविधानसभाका सदस्य थिए । सर्लाही–४ मा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन्।

shares