रक्षामन्त्री भने, निर्वाचन विथोल्न खोज्नेमाथि सेनाले गोली चलाउँछ

काठमाडाैं,२ण मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् ।

रक्षामन्त्री प्रधानले निर्वाचन विथोल्न खोज्ने तत्वहरुलाई निस्तेज पार्नको लागि सेनालाई आवश्यक परे गोली हान्नेसम्मको अधिकार दिइएको बताएका हुन् । निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह समेत गरे ।

रक्षामन्त्री प्रधानले अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाइएको जानकारी दिए । निर्वाचन स्वतन्त्र, भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायहरु प्रिचालित भैसकेको जनाउँदै उनले निर्वाचनको मुखमा भएका थुप्रै घट्नाहरु निस्तेज पारेको उल्लेख गरे ।

कार्यक्रममा नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणी दिक्षितले निर्वाचनमा निर्भयतापूर्वक मतदान गर्न मतदातालाई अपिल समेत गरे । उनले निर्वाचनको पूर्वसन्ध्यानमा भएका केहि घटनाले सरकार सुरक्षा कायम गर्न चूकेको आरोप समेत लगाए ।