मतदाता परिचय-पत्र नभएकाले यसरी मतदान गर्न सकिने

काठमाण्डौ, २० मंसिर । निर्वाचन आयोगले बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कारणवश मतदाता परिचयपत्र नभएका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हाे ।

अायाेगकाे अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । मतदाता नामावली तथा परिचयपत्रमा कुनै त्रुटी देखिएमा नागरिकतालार्इ मुख्य अाधार मानी मतदान गर्ने व्यवस्था मिलाउन पनि भनिएकाे छ ।

बुधबार निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउनेछन् ।’

यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई यही मङ्सिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने छन् ।