जेरुसलेमलार्इ इजरायलकाे राजधानीकाे मान्यता दिने अमेरिका पहिलाे राष्ट्र बन्दै

काठमाण्डाै, २० मंसिर । वरिष्ठ अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई बुधवार अबेर इजरायलको राजधानीको रुपमा मान्यता दिने बताएका छन्।

बुधबार राष्ट्रपति ट्रम्पकाे अपेक्षित वक्तव्य अाउनुपूर्व नै साे समाचार बाहिरिएकाे हाे । उनले अमेरिकी विदेश मन्त्रालयलाई तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसलेममा सार्न पनि निर्देशन दिनेछन्।

उक्त निर्णयले उक्त विवादित शहरबारेको वर्षौंयताको अमेरिकी नीतिलाई तोड्नुका साथै अन्तर्राष्ट्रिय सहमति समेत उल्लंघन गर्नेछ। अरब देशहरूले अमेरिकाकाे उक्त कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिएका छन्।

प्यालेस्टाइनले पनि जेरुसलेमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ। सन् १९४८ मा इजरायल एउटा छुट्टै राज्यकाे रुपमा स्थापना भएपछि जेरुसलेमलार्इ इजरायलकाे राजधानीकाे मान्यता दिने अमेरिका पहिलाे राष्ट्र हुनेछ ।

जेरुसलेममाथिको इजरायली सार्वभौमसत्ता अन्तर्राष्ट्रिय स्तरबाट हालसम्म स्वीकार गरिएको छैन र इजरायलको सबैभन्दा नजिकको साझेदार रहेको अमेरिकासहित सबै देशहरूले तेल अभिभमा आफ्ना दूतावास राखिअाएका छन्।

अमेरिकी संसदले २२ वर्षदेखि त्यस्तो कदम चाल्न भनिरहेतापनि अमेरिकी राष्ट्रपतिहरूले त्यस्तो नगर्ने अडान लिइरहेका थिए। जेरुसलेमले अमेरिकाबाट इजरायली राजधानीको मान्यता पायो भने अन्तर्राष्ट्रिय कानुन अनुसार गैरकानूनी मानिने ती वस्तीहरु वैधानिक रहेको भन्ने इजरायलको दाबीलाई बल पुग्ने देखिन्छ।

ट्रम्पले गर्न लागेको भनिएको घोषणाले मध्यपूर्वमा शान्तिका लागि मध्यस्थता गर्ने उनको प्रयासमा नै धक्का पुर्याउन सक्ने देखिन्छ। उनले आफ्नो चुनावी अभियानका क्रममा इजरायल समर्थक मतदाताहरूसँग गरेको वाचा पूरा गर्न लागेकाे देखिएपनि मध्यपूर्वमा उनकाे विराेध भइरहेकाे छ ।