४५ जिल्लामा भोलि सवारीसाधन नचल्ने, यी सवारीले भने पाउनेछन् छुट

काठमाडौं,२० मंसिर । चुनाव हुने ४५ जिल्लामा भोलि सवारीसाधन नचल्ने भएका छन्।

दोस्रो चरण अन्तर्गत हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारीसाधन चलाउन रोक लगाइएको हो । गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार सवारीसाधन नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ ।

मतदान हुने दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चल्न पाउनेछन् । अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दुरसञ्चार तथा दूध ढुवानी गर्ने सवारीसाधनमा भने रोक लगाइएको छैन।

मतदान सकिएपछि साँझ ७ बजेबाट भने सवारीसाधन साबिक रुपमै चल्न पाउने मन्त्रालयले जनाएको छ । सरकारले बिहीबार चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।