आठ दिनभित्रै मतपरिणाम सार्वजनिक गर्न यस्तो छ आयोगको तयारी

काठमाडौं,२० मंसिर । निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ ।

परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने,

‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ। मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छौं।’

स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ।दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार मतदान हुँदै छ। यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो ।

दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ। आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना बिहीबार दिउँसोबाट सुरु गर्ने आयोगको तयारी छ। दोस्रो चरणमा बिहीबार ४५ जिल्लाका १५ हजार ३४४ केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ।

यस्तो छ गणना व्यवस्थापन

प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाका दुई वटा र समानुपातिकतर्फ पनि प्रनिनिधिसभा र प्रदेशसभाको अलगअलग गरी चार वटा मतगणनास्थल हुनेछन् । एकै समयमा सबै तर्फको गणना गर्न नसकिए प्रत्यक्ष प्रणालीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको गणना एकैपटक गरिनेछ ।

प्रत्यक्षको गणना सकिएपछि समानुपातिक तर्फको गणना गर्ने आयोगको तयारी छ । मतगणना कार्यमा शिक्षक बाहेकका कर्मचारी परिचालन हुनेछन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अनुगमनमा खटिएका तालिमप्राप्त कर्मचारीलाई गणनाका लागि परिचालन गरिनेछ ।

आयोगले निर्वाचन प्रयोजनका लागि २ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ। सदर र बदर मतपत्रको निर्णय मतगणना निर्देशिकाअनुसार गरिनेछ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।