राष्ट्रसंघीय उच्च-स्तरीय उत्तर काेरिया भ्रमण अाजबाट

काठमाण्डाै, १९ मंसिर । संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्ने भएका छन् ।

यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण भएकाे बताइएकाे छ । कोरियाली प्रायोद्वीपमा देखिएको उच्च तनावका माझमा फेल्टमेनको यो भ्रमण हुन लागेको हो।

पूर्व कूटनीतिज्ञ फेल्टमेन संयुक्त राष्ट्रसंघमा कार्यरत सबैभन्दा वरिष्ठ अमेरिकी कर्मचारी हुन् । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई गत सेप्टेम्बरमा नीतिगत संवादका लागि आमन्त्रण गरेकोले उनी उत्तर काेरियातर्फ प्रस्थान गर्न लागेका हुन् ।

गत साता उत्तर कोरियाले ‘हालसम्मकै सबैभन्दा शक्तिशाली’ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो भ्रमणकाे तय गरिएकाे बुझिएकाे छ । उत्तर कोरियाले गत साता परिक्षण गरेको उक्त बलिस्टिक क्षेप्यास्त्र अमेरिकाको कुनै पनि ठाउँमा पुग्न सक्ने दाबी गरेको थियाे ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले फेल्टमेनले उत्तर कोरियाका विदेशमन्त्री रि योङ-हो सहित अन्य ८ उच्च वरिष्ठ अधिकारीहरूसँग भेट्ने र उनीहरूसँग द्वीपक्षीय स्वार्थ र चासोका मुद्दाहरूबारे नीतिगत छलफल गर्ने बताएका छन्।

फेल्टमेन शुक्रबारसम्म प्योङयाङमा हुनेछन्। तर उनले उत्तर कोरियाका नेता किम जङ-अनसँग भने भेट्ने कार्यक्रम राखिएकाे छैन।

सेप्टेम्बरमा पहिलोपटक अनौपचारिक रुपमा गरिएको आमन्त्रण उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण गरेको एकदिनपछि अर्थात नोभेम्बर ३० तारिखमा मात्रै स्वीकार गरिएको थियो।  -बीबीसी