संघ–प्रदेशकाे मतगणना एकसाथ यसरी हुँदैछ

काठमाण्डौ, १९ मंसिर । २१ मंसिरमा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचन प्रणालीबमोजिमको मतगणना एकसाथ प्रारम्भ गरिने भएको छ ।

निर्वाचन अधिकृतले मतदान सकिएको दिन बेलुकी ५ बजेपछि कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य सुरु गर्नुपर्ने ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४’ मा उल्लेख छ ।

तर स्थान अभावमा एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिने भएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना एकैपटक गरी सो गणना समाप्त भएपछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको मतगणना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना एकैपटक गर्दा अलगअलग कोठामा गर्नुपर्नेछ । एउटै कोठामा गर्नुपरेमा मतपत्र नमिसिने गरी गर्नुपर्नेछ ।  स्थान अभाव वा कुनै कारणवश प्रतिनिधसभा सदस्य र प्रदेशसभाको पनि एकसाथ मतगणना गर्न नसकिने अवस्था आएमा पहिले प्रतिनिधिसभा सदस्य र त्यसपछि प्रदेशसभा सदस्यको मतगणना गरिनेछ ।

‘हाम्रो लक्ष्य चाहिँ तीनवटाकै मतगणना एकैपटक सुरु गर्ने छ,’ ढकालले भने, ‘एकैपटक सम्भव नभए समानुपातिक छोडेर सुरु गर्ने र त्यो पनि नभए पहिले प्रतिनिधिसभा सदस्यको मतगणना गरिनेछ ।’

आयोगका अनुसार निर्वाचन अधिकृत नै मतगणना अधिकृत रहनेछन् । निर्वाचन अधिकृतले कम्तीमा सात जना कर्मचारी रहेको मतगणना टोली गठन गर्नेछन् । जसमा प्रमुख मतगणना अधिकारी एक, सहायक मतगणना अधिकारी एक, मतगणना सहायक एक, कम्युटर अपरेटर एक, सहायक कर्मचारी दुई र सहयोगी कर्मचारी एक जना रहनेछन् ।

निर्देशिकाको दफा ५ उपदफा ३ अनुसार निर्वाचन अधिकृतले स्थान उपलब्ध भएसम्म कम्तीमा तीनवटा मतगणना टोली बनाई गणना कार्य प्रारम्भ गर्नुपर्नेछ ।मतगणना कार्य छिटो सिध्याउनका लागि मतपत्र संख्या, उपलब्ध स्थान र सुरक्षा व्यवस्थासमेतको आधारमा तीनभन्दा बढी मतगणना टोली गठन गरी गणना गर्न सकिनेछ ।

निर्देशिकाअनुसार प्रत्येक मतगणना टोलीले कम्तीमा प्रतिसिफ्ट समानुपातिक निर्वाचन प्रणालीतर्पm १ हजार ५ सय र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३ हजार थान मतपत्र गणना गर्नुपर्नेछ । याे खबर राजधानी दैनिकमा छ  ।

मतगणनाका विकल्प

पहिलो    :  समानुपातिकसहित सबै गणना एकसाथ

 दोस्रो :  प्रतिनिधिसभा र प्रदेशसभा (प्रत्यक्ष) एकसाथ

 तेस्रो :  प्रतिनिधिसभाको (प्रत्यक्ष) नतिजापछि प्रदेशसभा

मतगणना प्रक्रिया

सात सदस्यीय तीनवटा गणक टोलीबाट एकसाथ गणना

एक क्षेत्रको मतगणना एउटै कम्पाउन्डभित्र

एक सिफ्टमा प्रत्यक्षका ३ हजार र समानुपातिकका १ हजार ५ सय थान मतपत्र गणना