निर्वाचनपछि वाम-गठबन्धनको सरकार बन्छ: ईश्वर पोखरेल

काठमाण्डाै, १८ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गरेका छन् ।

सोमबार काठमाण्डौको बसुन्धारामा आयोजना गरिएको चूनावीसभालाई सम्बोधन गर्दे काठमाण्डौ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेका पोखरेलले यस्तो दाबी गरेका हुन् ।

वाम गठबन्धनका बिषयमा हतास मनिस्थितिका कारण नकारात्मक दुष्प्रचार गरिएको उनले बताए । नेता पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानप्रदत्त ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताए ।

उनले यसअघि बहुमत हुँदा पनि कांग्रेसले मुलुकको विकासका लागि केही गर्न नसकेको भन्दै अब बामशक्तिले नै मुलुकको बिकास गर्ने दाबी गरे ।

कार्यक्रममा वरिष्ठ चिकित्सक तथा हृदयरोग विशेषज्ञ अरुण सायमीले आसन्न चुनावले भीमसेन थापाजस्ता देशभक्त प्रधानमन्त्री जन्माउने कि शेरबहादुर जस्ता देशविरोधी प्रधानमन्त्री जन्माउने विषयमा निर्णय लिने बताएका थिए ।