भत्ता नपाएको भन्दै ‘पुनर्निर्माण’का इन्जिनियरले गरे शपथ बहिस्कार

काठमाण्डौ,१८ मंसिर । भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नियुक्त भएका नयाँ इन्जिनियरहरूले तालिम अवधिको भत्ता नपाएको भन्दै सपथग्रहण बहिस्कार गरेका छन् ।

कानुविपरीत इन्जिनियरहरूले भत्ता माग गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरूको माग पूरा गर्न नसकिने जनाउँदै आएको छ। १० दिने तालिम लिएर ६ महिनाका लागि करारमा नियुक्ति पाएका इन्जिनियरहरूका लागि प्राधिकरणले आइतबार बुद्धनगरमा राखेको कार्यक्रम उनीहरूले बहिस्कार गरेका हुन् ।

तालिम अवधिको समेत भत्ता पाउनुपर्ने भन्दै सपथग्रहण कार्यक्रम सुरु हुनुअघि नै उनीहरूले होहल्ला गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले शपथग्रहण गराउँदा अधिकांश आफ्नो स्थानबाट उठेनन् । पुनर्निर्माणमा खटिन लागेका इन्जिनियरहरूले होहल्ला गर्दै अभद्र व्यवहार प्रदर्शन गरेपछि कार्यक्रम मर्यादित बन्न सकेन ।

शपथग्रहणसहित पुनर्निर्माणमा खटिने कर्मचारीलाई उत्साह जगाउन आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसाल र सदस्य हरिराम पराजुलीले बोलिरहँदा पनि इन्जिनियरहरूले बारम्बार अभद्र व्यवहार प्रदर्शन गरिरहेका थिए। आइतबार नै खटाउन लागिएका तीन सय ९१ सहायक प्राविधिकहरूको सपथ भने मर्यादित थियो । याे खबर कारोबार दैनिकमा छ ।