July 21, 2017

सरकारी अस्पतालहरु चार तहका हुने

जीवन भण्डारी / काठमाण्डौ, २२ वैशाख । स्वास्थ्य मन्त्रालयले नयाँ संघीय संरचनामा चार तहका अस्पतालहरु रहने व्यवस्था गरेको छ ।

मन्त्रीपरिषद्ले बिहीबार पारित गरेको ‘नेपाल स्वास्थ्य पुर्वाधार विकास मापदण्ड २०७४’ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीय स्तरका प्राथमिक, द्वितीय, तृतिय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गरिएको हो । गाँउ तथा नगरका वडास्तरमा भने कम्तिमा स्वास्थ्य चौकी वा जनता स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य ईकाई हुनेछन् ।

मापदण्डमा सबै तहका अस्पतालमा बायोमेडिकल तथा सहयोगी उपकरणहरूको खरिद, सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनलाई वैज्ञानिक बनाइने, उपकरणको व्यवस्थापन र मर्मत सम्भारलाई थप सबलीकरण गर्ने उल्लेख छ । स्वास्थ्य संस्थाका संरचनाहरु जथाभावी बन्ने कार्यलाई निरुत्साहित गर्दै नयाँ संरचना निर्माण गर्दा भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गरी निर्माण गर्नु पर्ने नयाँ मापदण्डमा व्यवस्था गरिएको छ ।

सबै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनु पर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ । संघीय संरचना अनुसार विद्यमान स्वास्थ्य सेवालाई व्यवस्थापन गर्नु पर्ने भएकाले नयाँ मापदण्ड बनाइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवाको सुधार, विस्तार र विकासका लागि ७ बर्ष सम्म गर्नुपर्ने कार्यहरुको विस्तृत विवरण सहितको खाकाको रुपमा एकिकृत स्वास्थ्य पुर्वाधार विकास मापदण्ड बनाइएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले बताए ।