दोश्रो सुम्हालुङ मिनि म्याराथुनमा याङदेम राई प्रथम

फिदिम, १७ मंसिर । पाँचथरकाे सदरमुकाम फिदिममा आयोजना भएको दोश्रो सुम्हालुङ मिनि म्याराथुनमा याङदेम राई प्रथम भएका छन् ।

चासोक तङ्नाम पर्वको अवसरमा आयोजना भएको प्रतियोगितामो निर्धारीत दुरी ३० मिनेट ३० सकेण्डमा पुरा गर्दै झापाको दमकका राई प्रथम भएका हुन् । प्रतियोगितामा कुल ३८ जनाको सहभागिता थियो ।

उनले ९ दशमलव ५ किलोमीटरको दुरी यतिको समयमा पार गरेका हुन् । सुम्हालुङ मन्दिरदेखि फिदिमको आहाल गैरी, जोरशाल, पल्लोटार हुँदै पुनः सुम्हालुङ मन्दिरसम्मको दुरी तय गरिएको थियो ।

याङदेमलाई पछ्याएका खडक राईले ३१ मिनेट ३२ सकेण्डमा यो दुरी पार गरे । एक मीनेट २ सकेण्डले खडक प्रथम भन्दा पछि भए । फिदिम–३ का खडकले याङदेमलाई पछ्याए पनि उछिन्न सकेनन् । ३५ मिनेटमा सो दुरी पुरा गर्दै फालेलुङ गाँउपालिकाका कविन केरुङ तृतिय भए ।

प्रथम भएका याङदेमले १५ हजार रुपैँया पुरस्कार र ट्रफी उचाले । द्धितिय खडकले १० हजार रुपैयाँ नगद र ट्रफी पाए भने तृतिय कविनले ५ हजार रुपैयाँ नगद र ट्रफीमा चित्त बुझाउनु पर्यो ।  उकालो–ओरालो भएकाले धावकहरूलाई केही समय लागेको थियो ।

लिम्बुहरुको चासोक पर्वको अवसरमा गत बर्षदेखि मिनि म्याराथुनको आयोजना हुन थालेको हो । सुम्हालुङ मन्दिरमा विशेष समारोहको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो । फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ सहितका अतिथिहरूले खेलाडीलाई शुभकामना दिएका थिए ।