एमाले राजनीतिक परिवर्तनको प्रमुख वाधक भएकाे मन्त्री निधिकाे अाराेप


अतिश कुमार मिश्र / जनकपुरधाम,२२ वैशाख । उपप्रधान तथा गृहमन्त्री विलमेन्द्र निधिले नेकपा एमाले वर्तमान राजनीतिक परिवर्तनको प्रमुख वाधक भएकाे आरोप लगाएका छन् ।

महावीर युवा कमिटीको नवनिर्वाचित कार्य समितिको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री निधिले जनआन्दोलन, माओवादीको जनविद्रोह र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कार्यमा एमालेले वाधकको भूमिका खेलिरहेको अराेप लगाएका हुन् ।

मुलुक गम्भिर मोडमा रहेको बताउँदै निधिले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गराउन मधेशी सहित सम्पूर्ण संघीयता र गणतन्त्र पक्षधरहरुलाई सचेत हुन आग्रह समेत गरेका छन् । उनले अबको समयमा परिवर्तन विरोधीलाई पहिचान गरी तिरस्कार गर्नुका साथै संघीयता पक्षधरहरुलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।