August 19, 2017

महाअभियोग प्रस्तावको विरोधमा राप्रपाको प्रर्दशन

प्रकाश उप्रेती / झापा, २३ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको नाड्गो हस्तक्षेप भएको भन्दै राप्रपा नेपालले प्रदर्शन गरेको छ ।

वर्तमान सरकारमा रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसले झुटो हस्ताक्षर संकलन गर्दै न्यायलयकी प्रमुख प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै विरोध प्रर्दशन गरेको हो । प्रदर्शनमा सहभागी वक्ताहरुले न्यायिक निकायमाथि राजनीतिकरण गरेको भन्दै राजनीतिक दलका शीर्ष नेतालाई नागरिकले न्याय पाउने अधिकारको हनन नगर्न आग्रह गरेका छन् ।

बाहुण्डाँगी रोडबाट निस्किएको र्‍यालीमा ‘न्यायिक स्वतन्त्रता लागू गर, न्ययालयमाथिको हस्तक्षेप बन्द गर, सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर’ लगायतका नारा तथा प्ले–कार्डसहित नगरपरिक्रमा गरिएको थियो । परिक्रमापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विनोद पौडेलले सत्तारुढ दलले प्रधानन्यायाधीश कार्कीमाथि लगाएको महाअभियोगको प्रस्ताव प्रमाणित नभएकाले तुरुन्त फिर्ता गर्न शीर्ष नेताहरुलाई आग्रह गरे ।

राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष रमेश दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्र कार्की, सविना बजगाईं लगायतले महाअभियोगको प्रस्ताव फिर्ता नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।