नेपालमा कडा खालको क्षयरोगका बिरामी बढ्दै

काठमाण्डाै, १३ मंसिर । नेपालमा कडा खालको क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ ।

नेपाल क्षयरोग निवारण केन्द्रका अनुसार अहिले ७–८ हजारको हाराहारीमा कडा खालको क्षयरोगका बिरामी भेटिएका छन् ।

६४ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसका अबसरमा केन्द्रले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा केन्द्रका अध्यक्ष देवेन्द्र प्रधानले कडा खालका बिरामी वर्षेनी बढ्दै गएकाले सावधानी र सचेतना बढाउनु पर्नेमा जोड दिए ।

कडा खाले क्षयरोग लाग्नेलाई बहुऔषधि प्रतिरोधात्मक र गहन बहुऔषधि प्रतिरोधात्मक किरामीमा वर्गिकरण गरिएको छ । यस्ता कडा खालका बिरामी वर्षेनी बढ्दै गएकाले सावधानी र सचेतना बढाउनु पर्नेमा प्रधानकाे जोड छ । त्यस्तै उनले क्षयरोग नियन्त्रणका लागि केन्द्रले लामो समयदेखि उपचारका साथै चेतनामुलक कार्य गर्दे आएको बताए ।

धेरैजसो क्षयरोगका बिरामी स्वास्थ्य संस्था तथा अस्पतालमा जाने गरे पनि अझै ९–१० हजार बिरामी स्वास्थ्य संस्थाको पहुँचमा नरहेको केन्द्रले जनाएको छ ।