उत्तर कोरियाद्वारा पुरै अमेरिका हान्न सक्ने क्षेप्यास्त्र परीक्षण

उत्तर कोरिया, १३ मंसिर । उत्तर कोरियाले पुरै अमेरिका मार हान्न सक्ने नयाँ किसिमको अन्तरमहादेशीय क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको बताएको छ ।

त्यहाँको सरकारी टेलिभिजनले प्योङ्यांगले आणविक हतियार सम्पन्न देश बन्ने लक्ष पुरा गरिसकेको दाबी गरेको छ । बुधबार बिहानै अँध्यारोमा परीक्षण गरिएको ह्वासंग-१५ नामक क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली भएको जनाएको छ ।

‘सी अफ जापान’मा खस्नुअघि झण्डै ५० मिनेट पूर्वतर्फ एक हजार किलोमिटर यात्रा गरेको  उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन्।

तत्कालै अमेरिकी अधिकारीहरुले अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र प्रयोग गरिएको टिप्पणी गरेको थियो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उक्त क्षेप्यास्त्र विगतका उत्तर कोरियाली क्षेप्यास्त्रहरुमध्ये सबैभन्दा बढी उचाइ  माथि पुगेको जनाए।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रहारको एउटा सैन्य अभ्यास गरेर आफ्नोतर्फबाट प्रतिक्रिया जनाएको थियो । उक्त  परीक्षण काे दक्षिण काेरिया र जापानले कडा भर्सना गरेका छन् । राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरुकाे दाबी छ ।

दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको गरेकाे एशिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजेको ठानिएको छ।

विगतमा प्योङयाङले ‘आगो र क्रोध’को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ”अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ,” भनेका छन्।