इन्जिनियरिङ कलेजको १० करोडभन्दा बढी व्यक्तिको खातामा

काठमाण्डौ,१३ मंसिर । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ ।

कलेज स्रोतले उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ।  ‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेजस्रोतले भन्यो, ‘तलब र अन्य सुविधाबाहेक विभिन्न शीर्षकमा खर्च देखाई रकम निकालिएको छ ।’

सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको स्रोतले बतायो ।  जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ। विद्यार्थी संगठनलाई बाँडेको भनी ८ करोड २५ लाख रुपैयाँ खर्च देखाइएको छ। ‘तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन,’ स्रोतले भन्यो ।

कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ। नियमित तलबबाहेक उनले जनसम्पर्क, यातायात र अन्य खर्चका नाममा भुक्तानी लिएका छन्। अर्का सञ्चालक लवराज भट्टराईले २ करोड ३२ लाख रुपैयाँ निकासा लिएको लेखा स्रोतले बतायो ।

सञ्चालकहरू उपेन्द्र गौतम र सूर्यबहादुर केसीका नाममा भएको भुक्तानीसमेत २र२ करोड रुपैयाँ नाघेको देखिन्छ। कलेजका सञ्चालकहरूले लिएको भुक्तानीको कागजात कान्तिपुरसँग सुरक्षित छ ।  सामाजिक संस्थाका रूपमा सञ्चालित कलेजका सञ्चालकहरूले आफूहरूलाई डेढ\डेढ करोड रुपैयाँ बाँड्ने विवादास्पद निर्णय गरेका थिए ।

हरि पाण्डे र दीपक भट्टराईबाहेक सबै सञ्चालकले उक्त रकम बुझिसकेको स्रोतले जनायो । कलेजलाई निजीकरण गरी कम्पनीमा परिणत गर्ने प्रयास भने चौतर्फी विरोधपछि असफल भएको छ।  कलेजस्रोतबाट प्राप्त कागजातमा खातामा रहेको रकममध्ये विभिन्न शीर्षकमा सञ्चालकहरूलाई सुविधा दिने भनी विवादास्पद निर्णय भएको देखिन्छ ।

अध्यक्षले वार्षिक डेढ करोड रुपैयाँ विद्यार्थी संगठनका नाममा बाँड्ने निर्णय गराएका छन् । ‘उक्त खर्चको स्रोतसमेत पेश गर्न नपर्ने भनी विवादास्पद निर्णय भएको छ,’ स्रोतले भन्यो । कलेजमा १५ करोड रुपैयाँ उठाउन बाँकी रहेकाले त्यसका लागि १५ प्रतिशत रकम खर्च लाग्ने भन्दै करिब दुई करोड २५ लाख रुपैयाँको हिसाब नै देखाउन नपर्ने भनी खर्च गरिएको स्रोतले बतायो ।

कलेजका अध्यक्षका लागि कलेजको कास र सञ्चालनका नाममा मासिक पारिश्रमिक ५ लाख रुपैयाँ दिने बोर्डले निर्णय गरेको छ। अरू सञ्चालकले मासिक १ लाख २५ हजार रुपैयाँ सुविधा लिइरहेका छन् ।

त्यसबाहेक अध्यक्षको परिवार अस्ट्रेलियामा रहेको भन्दै वार्षिक रूपमा तीन पटक अस्ट्रेलिया जानेरआउने सुविधा दिने गरेको स्रोतले जनायो। ‘उहाँ मात्रै होइन, श्रीमतीलाई समेत आउनजान सुविधा दिइएको भेटियो,’ स्रोतले भन्यो । याे खबर कान्तिपुर दैनिकमा छ ।