October 22, 2017

विपक्षी दलद्वारा संसदको दोस्रो बैठक पनि स्थगित

काठमाण्डौ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि दोस्रो बैठक पनि स्थगित भएको छ ।

दोस्रो बैठक सुरु हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए । विश्वकर्मालाई रोष्ट्रममा जानबाट रोकेपछि संसद बैठक स्थगित भएको हो ।

अर्को बैठक वैशाख २४ गते आईतबार दिनको १ बजे बस्ने सभामुखले बताइन् । यसअघि विपक्षीले नाराबाजी गर्दै वेल घेराउ गर्दागर्दै आजको पहिलो बैठकमा सभामुखले महाभियोग प्रस्ताव टेबल गर्न दिएकी थिइन् ।

महाअभियोग दर्ता भएपछि सात दिन भित्र संसदमा सभामुखले छलफलको मिति तोक्नुपर्ने प्रावधान छ । महाअभियोग दर्ता भएको शुक्रबार छैठौँ दिन पुगेको छ ।