October 23, 2017

निर्वाचन आयोगद्वारा उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाण्डौ, २२ वैशाख । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

त्यस्तै आयोगले स्थानीय निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । स्थानीय तहको पहिलो चरणको चुनावमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४ सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २ सय ७ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन आयोगका अनुसार काठमाण्डौमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२, काभ्रेमा २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३, दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहुँमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो । स्थानीय निकायको पहिलो चरणको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ ।