विवाहित हो कि होइन भन्ने विषयमा यी नायिका झेल्दै छिन् मुद्दा

लाहोर, ८ मंसिर । एक पाकिस्तानी अभिनेत्री विवाहित कि अविवाहित भन्ने विषयमा अदालतमा परेको एउटा मुद्दामा सात वर्षदेखि अल्झिएकी छिन् ।

फिल्मी दुनियाँमा मीरा नामले चिनिने इर्तिजा रुबाबले सफल व्यावसायिक फिल्महरूमा अभिनय गरेकी छिन् भने थुप्रै लोकल अवार्डहरू पनि जितिसकेकी छिन् । पाकिस्तानी फिल्म इंडस्ट्रिज ललिउडमा चर्चित यी नायिकाले बलिउडमा पनि आफ्नो उपस्थिति जनाइसकेकी छिन् ।

हाल उनी फैसलाबाद निवासी एक व्यापारी अतिक-उर-रहमानले दायर गरेको रिटका कारण अप्ठ्यारोमा परेकी हुन् । रहमानले आफूले मीरासँग सन् २००७ मा गोप्य विवाह गरेको र आफू उनको पति भएको दाबी गर्दै विवाहको प्रमाणपत्रसहित अदालतमा मुद्दा हालेका थिए ।

मीराले फ्यानहरूलार्इ आफू अविवाहित रहेको बताउँदै आइरहेकी छिन् । आफूले दिएको उजुरीमा रहमानले मीराको कुमारित्व परीक्षण गरिनुपर्ने, आफूसँग सम्बन्ध-विच्छेद नगरी अरुसँग वैवाहिक सम्बन्ध राख्न नसक्ने, उनी बस्दै आइरहेको घरको स्वामित्व आफ्नो हुनुपर्ने तथा उनलार्इ विदेश जानबाट रोकिनुपर्ने जस्ता विषयहरू समावेश गरेका छन् ।

तर लाहोर हार्इ कोर्टले बलत्कार वा हाडनाता करणी जस्ता मुद्दाहरूमा परेको उजुरीमा मात्र कुमारित्व परीक्षण गर्न सकिने भन्दै रहमानको उक्त उजुरीपत्रलार्इ रद्द गरिसकेको छ । कोही कसैको पति वा पत्नी हो कि होइन भनेर परेको उजुरीमा भने सम्बन्धित महिलाको अनुमतिबिना भर्जिनिटी टेस्ट गर्न नमिल्ने पनि अदालतले जनाएको छ ।

मीराले आफूले कसैसँग पनि विवाह नगरेको बताउँदै विवाह-दर्ताको प्रमाणपत्र पेश गरेर देखाउन सन् २०१० मा मुद्दाको विरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनको आरोप छ कि रहमानले नाम कमाउन मात्र प्रपंच गरेका हुन् । तर रहमानको वकिलले भने मीराले उनको आमा र काकाको उपस्थितिमा विवाह गरेको बताउँदै आइरहेका छन् ।

सेलिब्रिटीको हकमा यो पहिलो घटना भएपनि पाकिस्तानमा यो नौलो विषय भने होइन ।

यो लामो अदालती प्रकृयाले मीराको काम, प्रसिद्धि तथा आगामी वैवाहिक जीवनमा समेत गाह्रो पारिरहेको बताएकी छिन् ।

न्यायधीस नदिमले दुवै पक्षको बहस र तर्कहरूको टुंगो छिट्टै लगाउँदै यही डिसेम्बर ३० भित्र अन्तिम निर्णय आइसक्नुपर्ने बताए।

;;