November 18, 2017

अब देखि सेवाका अाधारमा अस्पतालहरु वर्गीकरण हुने

जीवन भण्डारी/ काठमाण्डौ, २१ वैशाख । मन्त्रीपरिषद्ले आज पहिलो पटक सेवाका आधारमा स्वास्थ्य संस्थाहरुको बर्गिकरण ‘नेपाल स्वास्थ्य पुर्वाधार विकास मापदण्ड २०७४’ पारित गरेको छ ।

यसअघि राज्यको संरचना र शैया संख्याका आधारमा मात्रै गरिएकोमा अबदेखि भने सेवाका आधारमा बर्गिकरण गरिने व्यवस्था भएको हो ।कुन अस्पतालमा कस्तो सेवा, पुर्वाधार, जनशक्ति उपकरण आदी रहने भन्ने मापदण्डमा उल्लेख गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नयाँ मापदण्ड अनुसार प्रत्येक वडामा स्वास्थ्य ईकाई हुने छ भने गाँउ वा नगर तहमा प्राथमिक अस्पताल हुने छ ।

जिल्ला वा अहिलेका अञ्चल अस्पताललाई भने तृतीय तहको अस्पतालको रुपमा कम्तिमा हरेक प्रदेशमा एउटा रहने गरी सेवाको व्यवस्था गरिने भएको छ । केन्द्रीय स्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने मापदण्डमा उल्लेख छ । मुटु, क्यान्सर, प्रसुती, स्वासप्रश्वास सम्बन्धी छुट्टा छुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख गरिएको पाैडेलले बताए ।

सबै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनु पर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।